
- सन्धिखर्कमा युवापुस्तामा बढेको कुलत र उच्छृङ्खल गतिविधिका कारण जनजीवन असुरक्षित बनेको छ।
- नगरपालिकाको कार्यक्रम प्रभावकारी नभएको भन्दै नागरिकले थप अनुगमन र सुधारको माग गरेका छन्।
- सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरीले गस्ती बढाउने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।
सन्धिखर्कमा बढ्दो युवा कुलत र उच्छृङ्खल गतिविधि: नियन्त्रणका लागि नगर प्रमुख र प्रहरीलाई ध्यानाकर्षण
सन्धिखर्क, अर्घाखाँची
असार ३, २०८३
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क र आसपासका बजार क्षेत्रमा पछिल्लो समय युवापुस्तामा बढ्दै गएको कुलत र उच्छृङ्खल गतिविधिका कारण शान्ति-सुरक्षामा गम्भीर चुनौती थपिएको भन्दै स्थानीय नागरिकहरूले चिन्ता व्यक्त गरेका छन्। बढ्दो सामाजिक बिकृति र असुरक्षालाई रोक्न माग गर्दै सन्धिखर्कका नागरिक समाज तथा व्यवसायीहरूले सन्धिखर्क नगरपालिकाका नगर प्रमुख र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुखलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएका छन्।
सरोकारवालाहरूले बुझाएको पत्र अनुसार सन्धिखर्क नगरपालिका क्षेत्रभित्र पछिल्लो समय युवापुस्तामा कुलतको समस्या तीव्र रूपमा बढिरहेको छ। सार्वजनिक स्थानहरूमा बेलुकीपख अनावश्यक रूपमा होहल्ला गर्ने, सामाजिक मर्यादा विपरीतका गतिविधि गर्ने, र आपसमा झैझगडा गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरू बढेका छन्। यस्ता गतिविधिले गर्दा आम नागरिक, अभिभावक, पैदलयात्री तथा स्थानीय व्यवसायीहरूमा त्रास र असुरक्षाको भावना पैदा भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको ।
सन्धिखर्क नगरपालिकाले युवाहरूलाई कुलतबाट जोगाउन, जनचेतना अभिवृद्धि गर्न र सकारात्मक गतिविधितर्फ आकर्षित गर्न प्रत्येक वर्ष विभिन्न शीर्षकमा बजेट विनियोजन गरी कार्यक्रमहरू सञ्चालन गर्दै आएको भए तापनि ती कार्यक्रमहरू प्रभावकारी हुन नसकेको स्थानीयको आरोप छ। हाल देखिएको विकराल अवस्थाले नगरपालिकाका कार्यक्रमहरूको प्रभावकारिता अपेक्षाकृत हुन नसकेको स्पष्ट पार्छ। नागरिकहरूले अबका दिनमा कार्यक्रमहरूको कार्यान्वयन, नियमित अनुगमन तथा नतिजामुखी मूल्याङ्कनमा थप ध्यान दिन नगर प्रमुखसँग जोडदार माग गरेका छन्।
प्रहरीलाई गस्ती बढाउन र कानुनी कारबाही गर्न आग्रह
शान्ति-सुरक्षा कायम राख्न मुख्य जिम्मेवारी बोकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीलाई बुझाइएको पत्रमा बजारका विभिन्न संवेदनशील क्षेत्रहरूमा प्रहरीको आवश्यक निगरानी, नियमित गस्ती तथा कानुनी कारबाही प्रक्रियालाई तीव्र पार्न अनुरोध गरिएको छ। बेलुकीको समयमा हुने उच्छृङ्खल गतिविधिले सर्वसाधारणको दैनिक जीवन र व्यापार व्यवसायमा नकारात्मक प्रभाव पारेकाले प्रहरीले विशेष कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।
हालसम्म सञ्चालन गरिएका कुलत विरोधी कार्यक्रमहरूको समीक्षा गरी विद्यालय, अभिभावक, नागरिक समाज, सुरक्षा निकाय तथा अन्य सरोकारवालाहरूसँग बलियो समन्वय गरेर मात्र यो समस्या समाधान गर्न सकिने ध्यानाकर्षण पत्रमा उल्लेख छ। युवापुस्तालाई कुलतको दलदलबाट जोगाउन परिणाममुखी र दीर्घकालीन कार्यक्रमहरू सञ्चालन गर्न स्थानीय सरकार र प्रहरी प्रशासन दुवै गम्भीर हुनुपर्नेमा नागरिकहरूले जोड दिएका छन्।
नगर प्रमुख र प्रहरी प्रमुखको प्रतिबद्धता: “कडाइका साथ कदम चालिनेछ”
ध्यानाकर्षण पत्र बुझ्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख दिवस बहादुर जिसीले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ।
नगर प्रमुख श्रेष्ठले नगरपालिकाले यसअघि गरेका कार्यक्रमहरूको गम्भीर समीक्षा गर्दै आगामी दिनमा थप परिणाममुखी र लक्षित कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाउनुभयो। त्यस्तै, प्रहरी प्रमुख जिसीले बजार क्षेत्रको शान्ति-सुरक्षा खलबल्याउने, कुलतमा लागेर समाजमा अवाञ्छित गतिविधि गर्ने र बेलुकीपख होहल्ला गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने भन्दै सुरक्षा व्यवस्था चुस्त बनाउन र गस्ती बढाउन कडाइका रूपमा कदम चालिने स्पष्ट पार्नुभएको छ। जिल्ला प्रशासन कार्यालय अर्घाखाँची हेलो सन्धिखर्क नगरपालिका जिल्ला प्रहरी कार्यालय अर्घाखाँची

