
- राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले राष्ट्रियता र स्वाधीनताको पक्षमा कोणसभा सम्पन्न गरेको छ।
- वक्ताहरूले विदेशी हस्तक्षेप, भ्रष्टाचार र जनविरोधी गतिविधिविरुद्ध एकजुट हुन आह्वान गरेका छन्।
- देशको समृद्धि र राष्ट्रिय हितका लागि सबै राजनीतिक दल र नागरिक एक हुनुपर्नेमा जोड दिइएको छ।
नेपाल प्रेसखबर अर्घाखाँची।
राष्ट्रियताको रक्षार्थ तथा देशको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितको संरक्षणका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा चुत्रावेसीको भक्तिटोल चोकमा कोणसभा सम्पन्न भएको छ।
सभामा बोल्ने वक्ताहरूले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता र जनताको अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका थिए। उनीहरूले देशमा देखिएका राजनीतिक, आर्थिक तथा सामाजिक चुनौतीहरूको समाधान राष्ट्रिय हितलाई केन्द्रमा राखेर गर्नुपर्नेमा जोड समेत दिएका थिए।
वक्ताहरूले विदेशी हस्तक्षेप, भ्रष्टाचार, बेथिति र जनविरोधी गतिविधिविरुद्ध एकजुट हुन आम नागरिकलाई आह्वान गर्दै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा निरन्तर संघर्ष आवश्यक रहेको धारणा राखेका थिए। साथै, देशको प्राकृतिक स्रोतसाधन, संस्कृति र पहिचानको संरक्षण गर्दै समृद्ध राष्ट्र निर्माणमा सबै राजनीतिक शक्ति र नागरिक एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए।

