
पश्चिमी अफ्रिकी मुलुक मालीको विभिन्न ठाउँमा एकै पटक हमला हुँदा रक्षामन्त्री सादियो कमाराको मृत्यु भएको छ।शनिबार सशस्त्र समूहले राधानीसहित देशका विभिन्न स्थानमा एकै पटक हमला गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका रक्षामन्त्री कमाराको उपचार क्रममा मृत्यु भएको हो।उनको मृत्यु भएको भनेर आइतबार मात्रै सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।राजधानी बामाकोबाट १५ किलोमिटर परको काती भन्ने ठाउँमा रक्षामन्त्रीको निवास छ। शनिबार उनको निवासमै आक्रमण भएको थियो। प्रतिकार क्रममा रक्षामन्त्री कमारा आफैले समेत आक्रमणकारीमाथि गोली चलाएका थिए। बिबिसीका अनुसार आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारीसाधन कमाराको निवासतर्फ ठोक्काइदिएका थिए।आक्रमणपछि कमाराको निवास ध्वस्त भएको र नजिकैको एक मस्जिदसमेत क्षतिग्रस्त हुँदा त्यहाँ रहेका केही सर्वसाधारणको ज्यान गएको बताइएको छ।
हमलामा कमाराको परिवारका अरू सदस्यहरू पनि मारिएको बताइएको छ।आक्रमण अलकायदासँग सम्बन्धित सशस्त्र समूह जमात नुसरत अल-इस्लाम वल मुस्लिमिनले गरेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्। शनिबारको आक्रमण कातीमा मात्रै सीमित थिएन।राजधानी नजिकैको विमानस्थल क्षेत्र, साथै उत्तरी र मध्य भागका गाओ, मोप्ती, सेभारे र किदाल लगायतका क्षेत्रमा समेत भीषण झडप भएको रिपोर्टहरू आएका छन्।विश्लेषकहरूका अनुसार यो पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलो समन्वित आक्रमणमध्ये एक हो। यस आक्रमणमा तुआरेग समुदायको वर्चस्व रहेको अलगाववादी समूह आजावाद लिबरेशन फ्रन्ट समेत संलग्न रहेको जनाइएको छ।
उक्त समूहले किदाल शहर आफ्नो नियन्त्रणमा गएको दाबी गरेको छ। यद्यपि मालीको सेनाले त्यसको पुष्टि गरेको छैन र त्यहाँ अझै झडप जारी रहेको भनेर बिबिसीले लेखेको छ। कमाराको सैन्य नेतृत्वभित्र प्रभावशाली मानिन्छन्। उनी रूससँग मालीको निकट सम्बन्ध विस्तार गर्ने प्रमुख योजनाकारसमेत मानिन्थे। उनको मृत्युले सत्तामा गम्भीर असर गरेको बताइन्छ। माली हाल असिमी गोइता नेतृत्वको सैन्य सरकारअन्तर्गत छ। सन् २०२० र २०२१ का कू मार्फत सत्ता कब्जा गरेको थियो। कमारा सोही सैन्य संरचनाको मुख्य स्तम्भ थिए।उत्तरी रणनीतिक शहर किदालको अवस्थाबारे अझै अन्योल कायम छ। विद्रोही पक्षले शहर नियन्त्रणमा लिएको दाबी गरे पनि सरकारी सेना र रुसी सहयोगी बल अझै त्यहाँ रहेको बताइएको छ।रुसी सहयोगमा सञ्चालन भइरहेको सुरक्षा रणनीतिमाथि समेत प्रश्न उठ्न थालेका छन्।
विश्लेषक लासिङका अनुसार यो आक्रमण रूसका लागि पनि ठूलो धक्का हो। किनकि उनीहरूले समर्थन गरेको सरकार यस्तो आक्रमण रोक्न असफल देखिएको छ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै हिंसात्मक गतिविधिको निन्दा गरेका छन्। पश्चिम अफ्रिकी क्षेत्रीय संगठन इकोवास र अफ्रिकी संघले पनि आक्रमणको कडा आलोचना गरेका छन्।मालीको सैन्य सरकारले सत्ता सम्हालेपछि सुरक्षा सुधार गर्ने वाचा गरेको थियो। तर पछिल्ला घटनाक्रमले देशको उत्तर र मध्य भाग अझै सशस्त्र समूहको प्रभावमा रहेको देखाएको छ।गत वर्ष बामाको नजिकै भएको अर्को आक्रमणमा करिब ७० जनाको ज्यान गएको थियो भने पछिल्ला महिनाहरूमा इन्धन आपूर्ति अवरुद्ध पार्ने रणनीतिले राजधानी नै प्रभावित भएको थियो।अहिलेको आक्रमणले मालीमा सुरक्षा संकट अझ गहिरिँदै गएको संकेत गरेको छ, जसले सरकार, अन्तर्राष्ट्रिय साझेदार र क्षेत्रीय स्थायित्व सबैका लागि चुनौती थपेको छ।

