
रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच साँत बुँदे सहमति भयो । तर पछिल्लो समय एकताका लागि निरन्तर सम्बादमा रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ भने सहमतिमा छुटेका छन् ।
रास्वपा र बालेन दुबैसँग निरन्तर सम्बादमा रहे पनि कुलमान आफ्नो पार्टीको अस्तित्व मेटिने गरी एकता नगर्ने बताउँदै आएका थिए । घिसिङले नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने आवश्यकता समेत औँल्याउँदै आएका थिए । एकता पछि कायम हुने पार्टीको नाम र जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै घिसिङ एकता प्रक्रियामा सहभागी नभएको बताइएको छ । यद्यपि रास्वपा र बालेन शाह पक्षका नेताहरूले घिसिङसँग एकताको सम्भावना कायमै रहेको बताउने गरेका छन् ।
रवि र बालेनबिच भएको सहमतिमा ‘अन्य परिवर्तनकामी र सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई पनि सहकार्यका लागि आव्हान गर्ने’ विषय उल्लेख छ । यही बुँदामा टेकेर घिसिङलगायतका नेतासँग एकता प्रयास हुने नेताहरूको दाबी छ ।


