काठमाडौं । आज हिन्दुहरूको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन — धनतेरस पर्व धुमधामका साथ मनाइँदैछ। कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा धन, स्वास्थ्य र समृद्धिका देवता भगवान् धन्वन्तरि, कुबेर र लक्ष्मीको पूजा आराधना गर्ने परम्परा रहिआएको छ।
धार्मिक विश्वास अनुसार आजकै दिन समुद्र मन्थनका क्रममा भगवान् धन्वन्तरि हातमा अमृतको कलश लिएर प्रकट भएका थिए। त्यसै अवसरमा स्वास्थ्य र दीर्घायुका प्रतीकका रूपमा धनतेरस पर्व मनाउने गरिन्छ।
यस दिन मानिसहरूले सुन, चाँदी, पित्तलका भाँडाकुँडा, नयाँ गरगहना, तथा कुवेर र श्री यन्त्र खरिद गर्छन्। यी सामग्री घर वा पसलमा राख्दा वर्षभरि धन, समृद्धि र शुभफल प्राप्त हुने विश्वास रहँदै आएको छ। विशेषगरी पित्तलका थाल, गिलास, कलश, र कचौरा किन्ने चलन व्यापक छ, किनभने भगवान् धन्वन्तरिलाई पित्तल मन पर्ने बताइन्छ।
यस्तै, लक्ष्मी र गणेशको प्रतीक अंकित चाँदीका सिक्का खरिद गर्ने चलन पनि आजकै दिन विशेष प्रचलित छ। धेरैले कुचो पनि किन्ने गर्छन्, जसलाई घरमा ल्याउँदा दरिद्रता टर्छ र परिवारमा सुख-शान्ति आउँछ भन्ने विश्वास गरिएको छ।
सवारी साधन किन्नेहरूका लागि पनि धनतेरस अत्यन्त शुभ मानिन्छ। नेपालमा अहिले तिहार अफरहरू चलेका कारण मोटरसाइकल, स्कुटर तथा कारको बिक्री उल्लेख्य रूपमा बढ्ने गरेको व्यापारीहरू बताउँछन्।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, आजको दिनदेखि तिहार औपचारिक रूपमा सुरु भइसकेको छ। आइतबार काग तिहार, यम दीपदान, र धन्वन्तरि जयन्ती मनाइनेछ।
यस पर्वसँग सम्बन्धित एक जनविश्वास अनुसार, आजदेखि भाइटिकासम्म कुनै पनि कारोबार वा उधारो लिनु–दिनु अशुभ मानिन्छ। त्यसैले व्यापारीहरू यस अवधिमा नगद कारोबारमै जोड दिन्छन्।तिहारको यस पहिलो दिनले नेपाली घरघरमा स्वास्थ्य, धन र समृद्धिको आशा बोकेर आएको छ।
🪔 शुभ धनतेरस !
सुख, शान्ति र समृद्धि तपाईंको घरमा स्थायी रहोस् 🙏


