बुधबार, २२ असोज २०८२ | काठमाडौं
नेकपा (एमाले)का नेता महेश बस्नेत बुधबार साइबर ब्यूरोमा उपस्थित भएर बयान दिएका छन्। जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनअनुसार साइबर ब्यूरोले उनीसँग बयान लिएको हो।
सामाजिक सञ्जालमार्फत आफूलाई बदनाम गरिएको भन्दै एक महिलाले बस्नेतविरुद्ध साइबर अपराध सम्बन्धी उजुरी दिएकी थिइन्। त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयले ब्यूरोलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो।
साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार बस्नेतको बयान लिएर प्रमाण संकलन कार्य भइरहेको छ। उनले भने, “हालसम्म प्रारम्भिक अनुसन्धान जारी छ, प्रमाण जुटेपछि मात्रै विद्युतीय अपराधमा अभियोग दर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ।”
यसअघि मंगलबार प्रहरीले बस्नेतलाई पक्राउ गर्न अनुमति माग्दै काठमाडौं जिल्ला अदालतमा निवेदन दिएको थियो। तर अदालतले तत्काल पक्राउ पुर्जी जारी नगरी थप प्रमाण पेश गर्न आदेश दिएको थियो। अदालतको आदेश अनुसार अब बस्नेत फ्यान क्लब कसको नाममा दर्ता छ भन्नेबारे पनि अनुसन्धान भइरहेको छ।
पीडित महिलाले सुरुवातमा हुलाकमार्फत जाहेरी दिएकी थिइन्, तर त्यसलाई ब्यूरोले भदौ ३१ गते तामेलीमा राखेको थियो। त्यसपछि उनले जिल्ला सरकारी वकिल कार्यालयमा पुनः निवेदन दिएकी थिइन्। उक्त निवेदनकै आधारमा सरकारी वकिलको कार्यालयले पुनः अनुसन्धान गर्न निर्देशन दिएको हो।
महेश बस्नेत हालसम्मका चर्चित विवादित नेतामध्ये एक हुन्। पछिल्लो समय उनी राजनीतिक गतिविधिसँगै सामाजिक सञ्जालमा पनि सक्रिय रहेका छन्। यस प्रकरणपछि उनीमाथि थप सार्वजनिक ध्यान केन्द्रित भएको छ।

