१० वर्षअघि बोनम्यारो प्रत्यारोपण गरेर क्यान्सर जितेका विधान आज आफैँ डाक्टर

समाचार सारांश
Auto Generated by AI
  • वर्षअघि रक्त क्यान्सर जितेका विधान भट्ट अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसर बनेका छन्।
  • अस्पतालको शय्यामा किमोथेरापी र बोनम्यारो प्रत्यारोपण गराउँदै गर्दा उनले एसएलसी उत्तीर्ण गरी डाक्टर बन्ने सपना पूरा गरेका छन्।
  • उनको यो प्रेरणादायी सफलताले कठिन रोग लाग्दैमा जीवनका सपना नरोकिने सन्देश दिएको छ।

१० वर्षअघि बोनम्यारो प्रत्यारोपण गरेर क्यान्सर जितेका विधान आज आफैँ डाक्टर

१० वर्षअघि १५ वर्षको उमेरमा रक्त क्यान्सरसँग जुधिरहेका विधान भट्ट अस्पतालको शय्यामा थिए। शरीरमा किमोथेरापी चलिरहेको थियो, बोनम्यारो प्रत्यारोपणको तयारी हुँदै थियो र अगाडिको जीवन कस्तो हुन्छ भन्ने निश्चित थिएन। तर त्यही कठिन समयमा उनले एउटा सपना भने छाडेनन्—एक दिन आफैँ डाक्टर बन्ने।

आज विधान त्यही सपना पूरा गरेर चिकित्सक बनेका छन्। क्यान्सरलाई पराजित गरेको एक दशकपछि उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरका रूपमा कार्यरत छन्।

कैलालीको टीकापुरका विधान कक्षा १० मा पढ्दै गर्दा अस्वस्थ हुन थालेका थिए। उनलाई पटक–पटक वान्ता हुने, शरीर कमजोर हुने र अत्यधिक थकान महसुस हुनेजस्ता समस्या देखिए। सुरुमा नेपालगन्जमा उपचार गरिए पनि समस्या समाधान नभएपछि उनलाई काठमाडौं ल्याइएको थियो। ललितपुरस्थित अल्का अस्पतालमा गरिएको परीक्षणपछि उनलाई रक्त क्यान्सरअन्तर्गतको लिम्फोमा भएको पुष्टि भयो।

क्यान्सर पुष्टि भएपछि काठमाडौंको निजामती कर्मचारी अस्पतालमा उनको उपचार सुरु भयो। किमोथेरापी चलिरहेका बेला पनि उनले पढाइलाई निरन्तरता दिए। अस्पतालको शय्याबाटै एसएलसीको तयारी गरे र किमोथेरापी गराइरहेकै अवस्थामा परीक्षा दिएर उत्तीर्ण भए।

त्यसपछि उनको उपचार बोनम्यारो प्रत्यारोपणसम्म पुग्यो। विधानको आफ्नै शरीरबाट स्वस्थ स्टेम सेल निकालेर सुरक्षित राखियो। उच्च मात्राको किमोथेरापीमार्फत क्यान्सरका कोष नष्ट गर्ने प्रयास गरिएपछि सुरक्षित राखिएका आफ्नै स्टेम सेल पुनः शरीरमा प्रत्यारोपण गरियो। यसलाई ‘अटोलोगस बोनम्यारो ट्रान्सप्लान्ट’ भनिन्छ।

प्रत्यारोपणका कारण विधानले कक्षा ११ मा करिब नौ महिना नियमित रूपमा कलेज जान सकेनन्। तर अस्पतालमै बसेर उनले फिजिक्स र केमेस्ट्रीका किताब पढिरहे। स्वास्थ्य अवस्था कमजोर हुँदासमेत उनले पढाइलाई निरन्तरता दिए र कक्षा ११ तथा १२ को अध्ययन पूरा गरे।

उपचारका क्रममा किमोथेरापीका कारण उनका आँखीभौँ र परेलाका रौँसमेत झरे। संक्रमणबाट जोगिन मास्क लगाएर बस्नुपर्थ्यो। तर यी कठिनाइले उनको आत्मविश्वास घटाएन। बरु अस्पतालमा डाक्टरहरूले बिरामीको उपचार गरेको देख्दा उनको आफ्नै चिकित्सक बन्ने चाहना अझ बलियो हुँदै गयो।

करिब एक वर्ष लामो उपचारपछि विधान क्यान्सरबाट मुक्त भए। त्यसपछि उनले उच्च शिक्षा अघि बढाउँदै नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस पूरा गरे।

१५ वर्षको उमेरमा अस्पतालको शय्यामा बसेर डाक्टर बन्ने सपना देखेका विधान अहिले २५ वर्षको उमेरमा आफैँ बिरामीको उपचार गरिरहेका छन्। उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरका रूपमा कार्यरत छन्। अब उनको लक्ष्य मेडिसिन विषयमा एमडी गर्ने रहेको छ।

विधानको यो यात्रा उनको व्यक्तिगत सफलताको कथा मात्रै होइन, क्यान्सरको उपचार गराइरहेका बालबालिका र परिवारका लागि आशाको कथा पनि हो। उपचारकै क्रममा पढाइलाई निरन्तरता दिएर आफ्नो लक्ष्यमा अघि बढेका विधानले कठिन रोग लाग्दैमा जीवन र सपनाको यात्रा रोकिनुपर्दैन भन्ने उदाहरण प्रस्तुत गरेका छन्।

बोनम्यारो प्रत्यारोपणबाट उपचार पाएर आज आफैँ चिकित्सक बनेका विधानका लागि अस्पताल कुनै समय रोगसँग लड्ने ठाउँ थियो। अहिले त्यही अस्पतालजस्तो वातावरण उनको पेशागत जीवनको हिस्सा बनेको छ—फरक यति हो, पहिले उनी उपचार गराउने बिरामी थिए, अहिले अरू बिरामीलाई उपचार गर्ने डाक्टर छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?