
- पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले देशका अधिकांश भूभागमा मौसम बदली भएको छ।
- कोशी, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
- उच्च हिमाली र पहाडी भेगमा हिमपात हुनुका साथै राति तराईको मौसम केही सफा रहनेछ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी तराई भू-भागमा आंशिक बदली हुने देखिन्छ।
यसैगरी, कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी पहाडी र तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च हिमाली र पहाडी भेगका केही स्थानमा हिमपातको समेत सम्भावना छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। तराई भू-भागमा भने रातिको समयमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

