
- आजको दिन सूर्योदय बिहान ५:०५ र सूर्यास्त साँझ ६:४३ बजे हुनेछ।
- विभिन्न १२ राशिका व्यक्तिहरूले आर्थिक कारोबार, स्वास्थ्य र पारिवारिक सम्बन्धमा सावधानी अपनाउनुपर्ने देखिन्छ।
- समग्रमा कार्यक्षेत्रमा सतर्कता, नयाँ योजनाको थालनी र आफ्नो स्वास्थ्यमा ध्यान दिनु आजको विशेष आवश्यकता छ।
नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
आज नेपालमा सूर्योदय,बिहान ०५:०५ बजे र सूर्यास्त, साँझ ०६:४३ बजे हुनेछ भने चन्द्रोदय, साँझ ०६:३६ बजे र चन्द्रास्त,पूर्णिमा भएकाले रातभरि चन्द्रास्त हुँदैन।
मेष~ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लेनदेनको कारोबारमा सतर्कता अपनाएको राम्रो हुन्छ । गिन्ती बिग्रिएर घाटा पर्नसक्छ । साथीभाइ र सहयोगीहरूले पनि फरक व्यवहार देखाउने दिन हो । परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै पनि नयाँ निर्णय लिनु हुँदैन, बरु व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो ।
बृष~ (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । कल्पनाशील र भावुक बन्ने दिन हो, फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्छ, नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ । भावनामा वहने समय छ, बिर्सने बानीले पनि कतिपय काममा बिलम्ब हुनसक्छ, कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् ।
मिथुन~ (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पार्टनरसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो, स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवन प्रभावित बन्नसक्छ । नियमित कामधन्दा र दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति हुनेछ । प्रयास गरेमा चलिरहेको आर्थिक समस्याको हल हुनसक्ने समय छ । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन ।
कर्कट~ (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ, कला र साहित्यप्रति झुकाव छ भने फुरेको विषयवस्तु टिपोट गर्नुहोला, भविष्यमा काम लाग्नेछ । कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला ।
सिंह~ (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मविश्वासमा बृद्धि हुनेछ तर कामको चाप बढ्ने समय हो, तथापि साथीभाइको सहयोग लिएर काम गरेमा सबै काम पूरा गर्न सकिने छ । विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुनेछन्, स्वास्थ्यस्थितिमा पनि असर पर्नसक्छ, त्यसैले आज शारीरिक तन्दुरुस्ती र आहारविहारमा ध्यान दिनुहोला ।
कन्या~ (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । कार्यक्षेत्रमा उत्साहवर्द्धक परिणाम प्राप्त हुनेछ । नवीन रोजगारी वा नयाँ कारोबारप्रति आकर्षण देखिन्छ, नचिताएको काम पूरा हुने दिन हो । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ ।
तुला ~(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । कला÷कविता र साहित्यमा रुचि बढ्नसक्छ । नचिताएको धन हातमा आइपुग्ने अथवा रोकिएको धनले गति समात्ने समय हो । स्थिर कारोबारका माध्यमबाट ठोस लाभ हुने दिन भएकाले लगानी बढाउन सक्नुहुन्छ । व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ ।
बृश्चिक~ (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आपसी सम्बन्धमा चिसोपन देखिने समय हो, पारिवारिक जीवनमा चिन्ता र शङ्काका बादल मँडारिन सक्छन्, जीवनसाथीसँग सम्पर्क गरी भावना बुझ्नु राम्रो हुन्छ । आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो, नयाँ लगानीप्रति आकर्षण देखाउँदा राम्रो हुनेछ । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ ।
धनु~ (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सफलता हासिल गर्न प्रतिस्पर्द्धामा जानुपर्ने समय छ, कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ, तथापि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ । राखनधरनप्रति सचेत हुने र तालासाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ ।
मकर~ (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । विगतमा गरिएको मिहिनेत र लगनशीलताको पुरस्कार प्राप्त हुने सुन्दर दिन हो, बोनस वा अतिरिक्त आम्दानीको सम्भावना पनि रहेको छ । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ ।
कुम्भ~ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । इच्छाएको फाँट वा कार्यालयको जिम्मेवारी प्राप्त हुने दिन हो, कामप्रतिको अभिरुचिका कारण छोटो समयमा कार्यसम्पादन गरी प्रशंसा बटुल्न सकिने छ । व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ ।
मीन~ (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ । विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो ।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

