img

कोशी प्रदेश भ्रमण वर्ष २०८२ को तयारी तीव्र, १० करोड बजेट विनियोजन

विराटनगर, पुस १९, २०८१
कोशी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि आगामी आर्थिक वर्ष २०८२ लाई कोशी प्रदेश भ्रमण वर्ष घोषणा गर्दै तयारीलाई तीव्र बनाएको छ। भ्रमण वर्षको गतिविधि व्यवस्थापनका लागि कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा विशेष सचिवालय स्थापना गरिएको छ।

पर्यटन वर्षको अवसरमा भारतको सिक्किम, बिहार, उत्तर प्रदेश र अन्य तेस्रो मुलुकका विदेशी पर्यटकलाई भित्र्याउन प्रदेश सरकारले सडक पूर्वाधार निर्माण र पर्यटकीय गन्तव्य व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। प्रदेशका सचिव विशाल घिमिरेका अनुसार भ्रमण वर्ष सफल बनाउन मन्त्रालयले ठोस योजना अघि बढाइरहेको छ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा भ्रमण वर्षका लागि १० करोड रुपैयाँ बजेट छुट्याएको छ। यस बजेटबाट विशेष गरी भौतिक पूर्वाधार विकास, सीमा नाकाको व्यवस्थापन, र पर्यटकीय स्थलहरूको संरचना सुधार गरिनेछ।

पर्यटन व्यवसायी भवेष श्रेष्ठले निजी क्षेत्रको सहकार्यमा आयोजना भइरहेको भ्रमण वर्षले प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउने बताउनुभयो। होटल एसोसिएसन कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठले पर्यटकको आगमन सहज बनाउन सीमा नाकामा सवारी साधन आवतजावतको व्यवस्थापनलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

भौगोलिक, सामाजिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण कोशी प्रदेशमा नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि सर्वोच्च शिखर सगरमाथासम्मका पर्यटकीय स्थल छन्। प्रमुख गन्तव्यहरूमा पाथीभरा, बराहक्षेत्र, हलेसी, खुवालुङ, र ऐतिहासिक सम्पदाहरू माङ्सेबुङ र तुवाचुङ पर्दछन्।

भ्रमण वर्षको औपचारिक उद्घाटन २०८२ वैशाख १ गते तेह्रथुमको लालिगुराँसको राजधानी तिनजुरे मिल्केमा हुनेछ। उद्घाटन कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय गरिएको छ।कोशी प्रदेश भ्रमण वर्ष २०८२ ले बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउँदै देशको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ। प्रदेश सरकारले पर्यटनलाई आर्थिक समृद्धिको मेरुदण्ड बनाउने उद्देश्यले यस कार्यक्रमलाई राष्ट्रिय आकाङ्क्षासँग जोडेर अघि बढाइरहेको छ।

थप जानकारीका लागि अपडेट हेर्दै जानुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

Leave A Comment

Related Post