आगामी निर्वाचनमा एकल बहुमतको लक्ष्यसहित अघि बढ्नुपर्छ कांग्रेस उपसभापति खड्का
काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी निर्वाचनमा पार्टी एकल बहुमतको लक्ष्यसहित नयाँ रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। शुक्रबार महोत्तरीको जलेश्वरमा आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले पार्टीको विगतका गल्तीहरूबाट सिक्दै कांग्रेसलाई सुदृढ बनाउँदै आगामी निर्वाचनमा एकल बहुमतको प्रयास गर्नुपर्ने धारणा राखेका हुन्।
खड्काले गठबन्धन स्थायी नहुने स्पष्ट गर्दै यो तत्कालीन राजनीतिक परिवेशमा आधारित रणनीतिक निर्णय भएको बताए। उनका अनुसार गठबन्धन गठन गर्ने निर्णय तत्कालीन सरकार प्रमुखले संविधानविपरीत कदम चालेर संसद् विघटन गरेपछि विपक्षी दलहरूको एउटै मञ्चमा उभिएर असंवैधानिक गतिविधिहरूको विरुद्धमा लड्न उत्प्रेरित गरेको थियो। “गठबन्धनको दीर्घकालीन नीति छैन, यो समय र परिस्थिति अनुसारको निर्णय हो,” खड्काले भने।
कांग्रेसको प्रमुख लक्ष्य भने एकल बहुमत हासिल गर्नु भएको बताउँदै उनले पार्टीभित्र एकता र सुदृढीकरण आवश्यक रहेको उल्लेख गरे। उनले पार्टीलाई एकताबद्ध गराउँदै जनताको विश्वास जित्न सक्ने योजनासहित अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। “अबका निर्वाचनमा एकल बहुमतका लागि हरेक सदस्यले कडा मिहिनेत गर्नुपर्नेछ,” उनले भने, “हामीले विगतका गल्तीहरूलाई भुल्दै नयाँ सोचका साथ जनताको पक्षमा काम गर्नु आवश्यक छ।”
खड्काले स्थानीय स्तरमा पार्टीलाई सशक्त बनाउन विशेष प्रशिक्षण र योजना कार्यान्वयनमा जोड दिँदै कांग्रेसको सुदृढीकरणमार्फत आगामी निर्वाचनमा पार्टीलाई अघि बढाउने लक्ष्य रहेको बताएका छन्।